डोनाल्ड ट्रम्प पक्षको आग्रहपछि जर्जियामा मंगलबारदेखि तेश्रो पटक मतगणना गरिने भएको छ । तेश्रो पटकको मतगणना डिसेम्बर २ मा समाप्त हुनेछ । दोश्रोपटक हातैले पुन: मतगणना गरेर नतिजा प्रमाणिकरण गरे लगत्तै ट्रम्प अभियानका तर्फबाट पुन: तेश्रोपटक मतगणनाका लागि अनुरोध गरिएको थियो ।
जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जर र गभर्नर ब्रायन केम्पले जर्जियाको चुनावको परिणामको औपचारिक प्रमाणिकरण गरिसकेका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट र गभर्नर दुबै रिपब्लिकन हुन् । उनीहरुले बाइडेनको जीतलाई औपचारिक रुपमा प्रमाणिकरण गरेपनि ट्रम्प पक्षले अर्को मतगणनाको माग गरेको थियो ।
जर्जियामा पुन: मत गणनाका लागि कुनै बाध्यकारी नियम नभएपनि शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतअन्तर रहेको खण्डमा पुन: गणनाको अनुरोध गर्न सकिने भएकाले यही नियममा टेकेर ट्रम्प अभियानले पुन मतगणनाको अनुरोध गरेको हो । अहिले शुन्य दशमलव ३ प्रतिशत मतअन्तर रहेको छ ।
तर पहिलेजस्तो हातैले भने गणना गरिनेछैन । मतपत्रहरु मेसिनमा स्क्यान गरेरमात्र गणना गरिने राज्यको नियम रहेको छ । जर्जियामा बाइडेनले ट्रम्पको तुलनामा १२ हजार ६ सय बढी मत ल्याएका छन् । सेक्रेटरी अफ स्टेटले काउन्टीका निर्वाचन अधिकारीहरुलाई पुन मतगणनाका लागि तयार रहन सुचित गरिसकेका छन् ।
जर्जियाका अधिकारीहरुले हातैले गरिएको दोश्रो मतगणनाको रिपोर्ट बिहिबार सार्वजनिक गरेका थिए । बाइडेन र ट्रम्पबीचको मार्जिन कम भएपछि पुन हातैले गणना गरिएको थियो । जर्जियामा डेडलाइन अगाडि नै प्रमाणिकरण भएको हो ।
त्यस्तै मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सम्म रहेकोमा मिसिगन र मैनले प्रमाणिकरण गरिसकेका छन् । तर पेन्सिलभेनियामा भने आजै प्रमाणिकरण हुने सम्भावना कम छ ।