ओइ के छ यार ?

0

‘म कोरोना नै हुँ । के को मजाक । यहि मजाक भन्दा भन्दै अम्रिकाको हालत के भो ? अटेरी हुँदा युरोप कस्तो भो ? घण्ट बजाउँदै बत्ती बालेर मलाई भगाउने मोदीको जिना हराम भैरहेको छ । अबे तँ नि मजाक भन्छस् ? भाग बे !’

उतिसारो फेसबुक चलाउँदिन म । दुइटा अकाउन्ट छ । चलाउन जाँगर लाग्दैन । आजभोली फेसबुक जन्मदिन, शिघ्र स्वास्थ्य लाभ, हार्दिक समवेदना, बधाइ, हेप्पी एनिभर्सरीका पोस्टहरुले भरिन्छन । मलाई यी सबै कुराहरुको फेसबुक पोस्ट गर्नमा दिलचस्पी छैन । हुनुपर्छ पर्दैन त्यो नि जान्दिन ।
फेसबुकमा भेट भो कोरोनासंग । म उसैसंग गरिएको सम्वाद यहाँ उतार्दैछु विना सम्पादन ।
“ओइ के छ यार ?“ चिन्नु न जान्नु एउटो फुचुग्रेंले मलाई यसरी बोलायो । मानौं उ र म शिशु कक्षादेखि संगै पढेका हौं । मैले यसो हेरें । “सिन भएर नि नबोल्नी, चिनिनस् कि क्या हो ?“ लगातार दोश्रो म्यासेज आएपछि कोरोनाको फोटो टाँसेर बोल्ने कोहि वालसखा हो कि ! अनुमान गर्दै प्रोफाइल हेरें । अबाउट मा प्यानडेमिक, फ्रम वुहान, नाउ वर्ल्ड वाइड ।
को डुकु हैछ भन्ने लाग्यो । ’मैले चिनिन नि ! माफ पाउँ ।’ मैले रिप्लाए ।
’अबे म कोरोना बे ? तेरो देश घुम्न आइराछु । तेरो शहर पस्दै थिएँ । गफ मारौं भनेर हो ।’
मैले फेरि नम्रसँग भने, ’मजाक नगरौ न ! को हो ?’
‘म कोरोना नै हुँ । के को मजाक । यहि मजाक भन्दा भन्दै अम्रिकाको हालत के भो ? अटेरी हुँदा युरोप कस्तो भो ? घण्ट बजाउँदै बत्ती बालेर मलाई भगाउने मोदीको जिना हराम भैरहेको छ । अबे तँ नि मजाक भन्छ्स् ? भाग बे !’ पुरै शहरको टोनमा थर्काउन थाल्यो ।
’आज कति प्याग गयो यार ?’ अब म कोरोना हो कि हैन केही नभनी त्यसका कुरा सुन्नैपर्ने निचोडमा पुगे ।
“अबे अझै मजाक सोचि रहेछस् ! म डाइरेक्ट इन्डियाबाट यता आएछु । काठमान्डुतिर मेरा काकाका सन्तानले तान्डव मच्चाइ राछन् ।“
’अनि यहाँ के गर्ने विचार छ त ?’
“केही छैन, तँहरुसँग कुरा गर्ने अनि जाने हो ।“
’मैसँग चाहिँ किन ?’ म अझै टिमुर्किए ।
“बहुत बकबक नगर । हेर तँलाई पिसिआर गराउँदा सोर्स लगाउनु परे जस्तो सोर्स लगार गफ गरेको नसम्झी, न तँलाई बहुत जान्ने बुझ्ने तेरो प्रधानमन्त्री जस्तो कोरोना विशेषज्ञ भनेर नै हो । बस्, सोच कि र्याडम्ली तँ परि हालिस्, अबे तिमीहरुलाइ डिभी पर्छ नि हो त्यस्तै ।“ प्रक्रिया मै दियो ।
होकी होकी भन्ने शंकाको लाभ दिन लागे मैले ।
बहुत धेरैलाई भनिसके । भन्नू पनि छ । तँलाई नि भनिहाल्छु, म यहि पृथ्वी मै थिए बहुत पहिलेबाट । वुहानमा एक्स्पोज न भाको हो । तर भूमिगत हुँदै ठिक हँुदोरहेछ, मोहन विक्रम बुढा किन अहिलेसम्म भूमिगत बसे अहिले बुझ्दैछु । मेरो नाम बेचेर बहुत दुख पाउने भो संसारले । अझ तिमीहरु जस्तो गरिव, अरुको भरमा बाँच्नुपर्ने र श्रम निर्यात गर्नेहरुको खराब हालत हुने भो ।
मलाई खोज्न विशेष मेसिन चाहिन्छ, फेरि खोजेर हुने केही हैन । यस्ता ’झारपात’ लकडाउनले म कहाँ रोकिन्छु यार ? क्या हाँस उठ्दो बुद्धि छ तिमर्को ।
म प्रकृतिलाई माया गर्न सिकाउन एक्स्पोज भाको हो । भाइरस वर्ल्डको महासभाले निर्णय गरेर । सबै प्रकृति प्रेमी बनुन् भनेर आग्रह गर्न आएको थिएँ । यहाँ त मेरो नाममा व्यापार बनाए । लकडाउन गर्यो । मान्छे थुन्यो । अनि बिच चौराहामा सेल्फी खिच्यो । कोरोना विरुद्ध लडाइँ भन्यो । गफास्टिक धेर भए । म फैलिएँ–जनताले सुरक्षा सावधानी अपनाएनन् । होशियार भएनन् । म आफ्नो बाटो लागें –मेरो सक्रियताले कोरोनालाई परास्त गरियो ।
समाजवाद उन्मुख तिमर्को देशमा क्या कस्मेटिक नेतृत्व छ यार । चकित छु प्रधानमन्त्रीदेखि देखि सिडियोसम्म सबैलाई ’जसैजस’ चाहिएको छ । मेरो नाममा टेकेर बहुत काम गरेको देखाउने हतारो छ । जनताका पीरमर्का त यत्रै सित्ती ।
’प्रीय कोरोना जी, नेतै हुनुस् न हो ? बरु एक भोट पक्का । तर अब दुख नदिनुस् ।’ मैले फुर्क्याएँ ।
वा रे वा ! मलाई तिमर्को देशको नेता हुनु छैन । बन्दै नबन्ने देशमा मरिहत्ते गरिन्न । कुरा क्लियर छ । मेरो आफ्नै साम्राज्य छ, भाइरस वर्ल्डको म नयाँ बादसाह हो । ५(५ वर्षे चुनाव त के मलाई तिमर्को लोकसेवा आयोगवाला ५८ वर्षे उमेर अवधिको कर्मचारी नि बन्नु छैन । ७२ घन्टामा काम तमाम गर्दिन सक्ने हैसियतको हुँ । कम नआँक्नु है । बढी मजाक मन पर्दैन ।
‘दुख नदिनुस्, तपाईं महान । मूर्ति बनार पुजा गरौंला, कोरोना डे मनाउँला । यहाँलाई मनपर्ने जिनिस चढाउँला । गैजानुस प्रीय कोरोना जी ?’ फेरि फकाएँ । मेरो एक आग्रह मै कोरोना चल्दियो भने त म नि जस लिने हकदार हुन्थे । यो च्याटको स्कृन सट् लिएर भाइरल बनाउथें । आखिर जसको लोभ सिडियो र जनप्रतिनिधिलाई मात्र कहाँ हो र मलाई नि छ ।
म जाने नजाने कुराले के ख्याँस्छ । (लाग्यो दारु धेरै चढाएछ) । ओइ रफ बोल्यो नभन है, आज सेकुवा खान पसेको दारु विना घाँटीबाट छिरेन । अलि अलि चढाछु । त्यसैले ’कन्ठगमन’ गर्न सकिन । सवाल मेरो जाने वा नजाने हुँदै हैन । सवाल तिमर्को आर्थिक हालतको हो । म रुघाखोकी विरादरीको भाइरस हुँ । म मानिसलाई संक्रमित बनाउछुँ । असर होला । अलि बढी होला ।
तिमेर्को शासकले मेरो नाममा भएको जिओ पोलिटिक्स नै बुझेन । उसको केट्केटी अदुरदर्शिताले तिमर्लाई ठूलै असर पुरयाउँछ । (यो बखान पढ्दै गर्दा विश्व बैंकले प्रकाशित गरेको कोरोना असर सम्वन्धी प्रतिवेदन सम्झें) रोगले भन्दा बढी भोकले मर्छौ तिमेरु । कामधाम नभए पछि खाली दिमाग सैतानका घर हुन्छ । खै बुझेको तिमर्ले ?
स्वस्थ हुन सबैले सावधानी अपनाउनुपर्छ । सावधानी अपनाउँदै अब त खोल्दा हुन्छ नि यार । सबै देश खुलिसके । तिमीहरु हप्ताको २ दिन लकडाउन, फलानो ठाउँ सिल, डिस्कानो भन्दै उहीँ नेपाल बन्दवाला स्टायलमा छौ । त्रासले हैन, सावधानीले हो मसंग भलाकुसारी गर्ने । स्वास्थ्य पूर्वाधारहरुको विकास गर्ने हो । आम मानिसलाई मेरा बारेमा जानकारी दिने हो । सचेत बनाउनी हो । बताउन जाँदा नि सेल्फी खिच्नु पर्दैन होला । तिमर्ले तिरेको करले भत्ता खाँदै तिमर्लाई वेवकुफ भन्दै अर्ती दिने ठूल्ठुला फेसबुके स्टाटस लेख्ने शासकहरु नै मलाई बोक्ने भरिया हुन् ।
’अब बताउनुस त कहिले तपाईं जाने हो ?’ मैले आजतक स्टायलमा सोधें ।
म जाम कि नजाम वालै फरर भनेर कामकाज गर न । उद्योग खोल । व्यवसाय चलाउ । आफ्नो काममा लाग । बिजी बन । जन्मिने, मर्ने प्राकृतिक कुरो हो । बिहान कोरोना । बेलुका कोरोना । हग्दा कोरोना, मुत्दा कोरोना । यो तालले हुन्न । बस् एउटा कुरा ख्याल गर तिम्रो र्याल अर्कोले ननिलोस् । यसका लागि मुख, नाक छोप्ने मास्क लगाउ । निश्चित दुरीमा बस । पुगिहाल्यो नि । म बाहिर घुम्छु । डेली सेकुवा र दारु खान्छु । तिमीहरु काम गर । फ्रेन्डसिप गर मसँग । किन डराउनु यार ! म नआउँदा मेरै खलकका कैयौं भाइरसले सोत्तर भकै हौ तिमीहरु । व्याक्टेरियाले मरेकै हौ । नबिराउ, नडराउ । बस कुरो कन्फर्म यो हो कि म अब तिमीहरुलाई छाडेर जान्न ।
मेरै कारणले कैयौं सकारात्मक परिवर्तन तिमीहरु देख्छौं निकट समयमा । कैयौं नयाँ इन्नोभेसन हुनेछ मेरै कारण । म संरचनात्मक परिवर्तनको डिलमा विश्वलाई पुर्याउन सक्ने सामर्थ्य बोकेर आएको छु । यसबारेमा पछि गन्थन गरम्ला । म अहिले सुत्छु । डाटा प्याक नि सकियो । भोलि बिहानै ह्यांग उतार्ने हो । म मस्त हुने सुरसारमा छु ।
यो कन्ठगमन गर्नै नपरे हुन्थ्यो जस्तो लाग्छ । तीन दिन भोकभोकै बस्नुपर्छ । तिमर्को शरीर भित्र भन्दा बाहिरको वातावरण दामी छ । फेरि तिमेरु बेसार पानी खान्छौ यार । तात्तातो बेसार पानीको पोलाई कम्ति हैरान हुन्छ । लुक्न कै हैरान होइन्छ भन्या । अकालमा ज्यान गुमाउन मलाई पनि किन रहर लाग्थ्यो र !
नाइस टु मीट यु दुइटा स्माइलीसंगै उ गयो ।
@khajuraaa

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here