सूचना माग्दै आयोगमा उजुरी

0

गाउँपालिकाले अवैधानिक भत्ता, करार कर्मचारी तथा ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै आएको आरोप

बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवाद राष्ट्रिय सूचना आयोगमा पुगेको छ । सूचना नदिएको भन्दै आयोगमा उजुरी पुगेको छ ।
भत्ता, करार कर्मचारी, गाउँपालिकाको शहरी कार्यालय लगायत भ्रष्टाचारजन्य कार्यको चौतर्फी आलोचना भइरहँदा गाउँपालिकाले विभिन्न ब्यक्तिहरुले माग गरेको सूचना उपलब्ध नगराएर झन् विवादमा तानिएको हो ।
स्थानीय बासिन्दा फारुक अहमद खाँ, वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, पत्रकार विनय दीक्षित, गुरुमूरत यादव लगायत ब्यक्तिहरुले फरक फरक सन्दर्भमा माग गरेको सूचना गाउँपालिकाले लुकाउँदै आएको आरोप छ ।
माँग गरिएका र कानून बमोजिम दिन मिल्ने सूचना समय भित्र उपलब्ध गराउनु पर्नेमा गाउँपालिकाले सो बारे मौनता कायम राखेको गुरुमूरत यादवले बताए । मैले गाउँपालिका क्षेत्रमा जडान भएका र जडान हुन बाँकी भई खरीद प्रक्रियामा रहेको सौर्यउर्जा बारे सूचना माँग गरेको थिएँ, उनले भने, हाल सम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
पत्रकार विनय दीक्षितले माँग गरेको, गाउँपालिकामा वितरण भएको २१ लाख ३५ हजार रुपैया अवैध भत्ता, करार कर्मचारी, र विभिन्न आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन हाल सम्म प्राप्त नभएपछि उनले सूचना आयोगमा पुनरावेदन पत्र दायर गरेका छन् ।
सूचना उपलब्ध नगराएका कारण भित्र बढी नै गडबडको संकेत प्राप्त भइरहेको छ, दीक्षितले भने, गाउँपालिकाले गरेको क्रियाकलाप बारे सूचना माँग्ने र दिनु पर्ने कानूनी अधिकारको विषय हो ।
गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले आफुले माग भएको सूचना बारे सरोकारवाला शाखालाई पत्राचार गरेको तर केहि शाखाबाट अधुरो सूचना मात्र प्राप्त भएको बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here