संक्रमण बढ्दै सावधानी हट्दै

0

जिल्ला प्रशासन कार्यालयले बाँकेमा कोरोना संक्रमण विस्तार रोक्न प्रत्येक शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको दिन अत्यावश्यक कार्यको लागि मात्रै हिडडुल गर्न दिइएको थियो । तर, बजारमा अनावश्यक भिड थिएन जसले गर्दा समुदायमा पसेको कोरोनाको ‘चेन’ रोक्न सकिने स्थिति थियो । निषेधाज्ञा लगाइदा दावी पनि त्यही गरिएको छ ।
आइतबार यताको दृश्य हेर्दा बाँकेमा कोरोना संक्रमणको आंकडा मात्रै बढेको छैन , बाँकेमा लापरबाही समेत बढेको देख्न सकिन्छ । नत सवारी साधनमा जोर विजोर नत पसल व्यवसायीनै मापदण्डको पालनामा गम्भीरतानै देखिन्छ । आज मंगलवार विहानैदेखिको अवस्था गस्तै छ । अपेक्षित सावधानी देखिएको छैन ।
बाँकेमा कोरोना संक्रमणको आकडा मात्रै बढेको छैन, कोरोना संक्रमणको आकडा संगै यहाँको जनजीवनमा असावधानी समेत बढेको छ । दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढेको बाँकेमा बाँकेबासीको जनजीवन अति सामान्य बनिसकेको भान हुन्छ । कोरोना संग लड्ने विकल्प लकडाउन मात्रै नभएको तर्क अगाडी आएको बेला कोरोना संक्रमणले लिएको ज्यान र संक्रमितको बढेको संख्या आफैमा एउटा यथार्थ हो ।
सामाजिक दुरि कायम गर्न सकिने स्थान र काममा पनि सामाजिक दुरि कायम गरेको देखिएन, चिया पसल र कफी सपमा चिया पिउने र गफ गर्नेहरुको सन्ख्या समेत उल्लेख थिए भने स्वास्थ्य सुरक्षाका सामाग्रीहरु ( मास्क र सेनिटाइजर ) जस्ता सामाग्रीको प्रयोगमा कमी आएको पाइएको छ ।
यी र यस्ता गतिविधि ब्यवसाय संचालन गर्दा गर्दै पनि अपनाउन सकिन्छ, काम र कार्यालयमा सजिलै लागू गर्न सकिन्छ, पसलमा राख्न र प्रयोगमा ल्याउन सकिन्छ तर पनि यस्तै सानो तर महत्त्वपूर्ण मानिने हाम्रो क्रियाकलाप लापरबाही बन्दै गएको छ । जसले कोरोना संक्रमणको दर अझ उच्च हुनेमा सजिलै अनुमान गर्न सकिने जानकार बताउछन् ।
बाँकेमा हालको दिनमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या थपिएको छ भने डिस्चार्ज हुनेहरुको संख्या पनि उलेख्य छ । सोमवार मात्रै बाँकेमा छ जनामा कोरोना पुष्टि भएको छ भने छ जनानै डिस्चार्ज भएका छन् । यसँगै बाँकेमा १२ सय ५७ पोजेटिभ केस देखा परेको छ भने ८४० जना निको भै घर फर्किसकेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम कुरुम्वाङले अब बस्ने जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले अबको व्यवस्थापनबारे निर्णय बताएका छन् । लापरवाही बढ्दै गए फेरि निषेधाज्ञा जारी गर्नुपर्न हुनसक्छ । लापरवाहीकै कारण खजुरामा १९ जनामा संक्रमण फैलिएको अनुमान गरिएको छ । एकजना स्वास्थ्यकर्मीको लापरवाहीले खजुरामा संक्रमण विस्तार भएको भन्दै आलोचना भएको छ । (हेर्नुस् भिडियोमा नेपालगन्जको पछिल्लो अवस्था

खजुरामा निषेधाज्ञा, क्यान्सर अस्पताल सिल

खजुरामा आइतबार अहिलेसम्मकै बढि संख्यामा कोरोना संक्रमित भेटिएपछि सोमवार मध्यरातबाट निषेधाज्ञा जारी गरिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा बाँकेको खजुरामा १९ जना संक्रमित फेला परेका थिए । ‘सतर्कता अभावले त्रास बढेकाले खजुरालाई सिल गर्न सबैतिरबाट प्रस्ताव आयो,’ खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले यति ठुलो संख्यामा संक्रमित फेला पर्दा चिन्ता र त्रासका कारण केही दिनलाई यो उपाय सोचिएको प्रतिक्रिया दिंदै दैनिक नेपालगन्जसँग भने ।
आइतवार बाँकेमा ४१ जना संक्रमित फेला पर्दा सबैभन्दा बढी १९ जना खजुरामा पुष्टि भएको थियो । बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा एकै दिन कोरोना भाइरसका १२ जना संक्रमित फेला परेका छन् । आइतवार चिकित्सक सहितका १२ जनामा संक्रमण पुष्टि भएको हो । एउटा निजी पोलिक्लिक, पेट्रोल पम्पका सञ्चालक परिवारनै संक्रमित भेटिंदा त्रास बढेको बताइएको छ ।
अस्पताल पनि सिल
अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सिल गरिएको छ । चिकित्सकसहित १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।

अस्पतालका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई भाइरस संक्रमण देखिएको छ । यसअघि अस्पतालका गाडी चालकलाई पनि कोरोना भाइरस संक्रमण देखिसकेको थियो । अस्पतालका अनुसार, भाइरस संक्रमण देखिएपछि अन्य सबै चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टाइन बसेका छन् । उनीहरुको पीसीआर परीक्षणको तयारी भइरहेको छ । अस्पतालमा ४२ जना कार्यरत छन् ।
नेपालगन्ज उपमहानगरपालिका बन्द
कोरोना संक्रमणपछि कर्मचारीको मृत्यु भएको घटनालाई लिएर नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय चार दिनका लागि बन्द भएको छ । कार्यालयका जिन्सी सहायक युवराज विक्रम घलेको आइतवार कोरोना संक्रमणका कारण मृत्यु भएपछि सोमबार शोक मनाउन कार्यालय बन्द गरिएको हो ।
उपप्रमुख उमा थापा मगरका अनुसार, आज मंगलबारदेखि तीन दिनसम्म कार्यालय सिल गर्ने निर्णय भएको छ । संक्रमणका कारण कर्मचारीको ज्यान गएकाले उपमहानगरपालिका कार्यालय आगामी आइतबारदेखि मात्र सुचारु हुने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नगर प्रमुख डा. धवलशमशेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताएका छन् । सोमवार शोक कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरुले घलेको सम्झना गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय घलेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार राति ८ः३० बजे निधन भएको थियो । पाँच वर्षदेखि मधुमेह र मुटु रोगबाट पीडित घलेको कोरोना लक्षण देखिएपछि १२ भदौँमा स्वाब संकलन गरिएको थियो । १५ भदौँमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेपालगन्जस्थित न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्यमा खरावी आएपछि १८ भदौँमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानान्तरण गरिएको थियो । घलेको सोमवार सिधनियाघाटमा नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here