किन पुगे सुरक्षा अधिकारी नरैनापुर ?

0

सीमा क्षेत्रबाट भइरहेको तस्करी र खुल्ला आवागमन बारे सुरक्षा अधिकारीको प्रतिवाद


विनय दीक्षित
बाँके । नरैनापुर गाउँपालिका तस्करीको हब रहेको सम्बन्धी समाचार प्रकाशित भएपछि जिल्ला स्थित सुरक्षा निकायका उच्च अधिकारीले विहिवार नरैनापुर क्षेत्रको आकस्मिक अनुगमन गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग, प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम राना लगायतको टोलीले नरैनापुर क्षेत्रबाट भइरहेको खुलेआम तस्करी र अवैध आवागमनलाई निरुत्साहित गर्ने सन्दर्भमा आकस्मिक रुपमा पुगेका हुन् ।
नरैनापुर गाउँपालिकामा भगवानपुर, ककरदरी, घोडदौरिया, रोशनपुर्वा, सुईया र चौफेरी निकासीको सहायक नाकाको रुपमा रहेका छन् । ती मध्ये सबैभन्दा बढि तस्करी र आवागमन हुने नाकाको रुपमा नरैनापुर ४ को घोडदौरिया र नरैनापुर ३ को रोशनपुर्वा नाका पछिल्लो समय चर्चामा छन् । खासगरि, भारतीय युरिया मल र अन्य सुर्तिजन्य पदार्थ तस्करीको सन्दर्भमा दैनिक नेपालगन्जले समाचार प्रकाशित गरेपछि सुरक्षा अधिकारीहरु नरैनापुर पुगेर सो क्षेत्रको जायजा लिएका छन् ।
सुरक्षा अधिकारी आउने पूर्वसूचना पाएपछि स्थानीय स्तरमा सुरक्षा स्थिति बलियो बनाइयो, हरेक २ किलोमिटरमा प्रहरी उपस्थिति र चेकजाँच बढ्यो । हुलाकी राजमार्ग देखि लिएर विभिन्न नाकामा आवागमन ठप्प भयो, स्थानीय बासिन्दा केहि समयपछि मात्र बुझ्न सके कि कुनै उच्च अधिकारी आउँदैछन् ।
प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार, अचानक बढेको सुरक्षा सतर्कता बारे अनभिज्ञ रहेका तस्कर चोर बाटो प्रयोग गर्न बाध्य भए, सुरक्षा अधिकारीको आवागमनको खबर पूरै क्षेत्रमा आगोझैं फैलियो । स्थानीय स्तरमा रहेका सुरक्षाकर्मीले कुनै चुक हुन नदिन भरसक प्रयास गरिरहेका पाइयो ।
अन्य दिन सामान्य रुपमा आवागमन हुन सक्ने क्षेत्रमा पनि सुरक्षा व्यवस्था बढाइएको छ, दैनिक नेपालगन्ज संग कुरा गर्दै नरैनापुर १ का वडा अध्यक्ष मोलहे शेषले भने, यो औचारिक अनुगमन मात्रै हो, तर प्रतिफलमुखी हो भन्ने लाग्दैन ।
भारतीय क्षेत्रबाट सुर्तिजन्य पदार्थ, गुटखा, चुरोट, मदिरा मल, माछा, तरकारी, कपडा, पान र अन्य खाद्य पदार्थ नेपाली क्षेत्रमा खुलेआम तस्करी हुँदै आएको बेला सुरक्षा अधिकारीहरु कहाँ बस्छन् ? अध्यक्ष शेषले प्रतिप्रश्न गर्दै भने, यस किसिमको प्रचारमुखी अनुगमनले खासै अर्थ राख्दैन ।
नरैनापुर क्षेत्रबाट कुखुरा, खसी, मासुजन्य पदार्थ, अवैधानिक मदिरा, सुर्तिजन्य पदार्थ तस्करी हुँदै आएको सन्दर्भका विषयमा खासै केहि फेला परेन, दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रानाले भने, मल तस्करी भएको जस्तो मलाई लाग्दैन, लालपुर्जा देखाएर कम्तिमा एक बोरा भारतीय मल ल्याउन दिने भन्ने सर्कुलर गरेको छु ।
सिमा क्षेत्रमा सशस्त्र प्रहरी र अन्य क्षेत्रमा नेपाल प्रहरी तैनाथ रहेका कारण तस्करी भइरहेको वा पैसा असूल गरिएको सन्दर्भलाई स्वीकार गर्न मिल्दैन, प्रहरी उपरीक्षक रानाले भने, अवैध आवागमन समेत भइरहेको कतै पाइएन ।
प्रहरी उपरीक्षक रानाले त्यसो भनिरहँदा जिल्ला प्रहरी कार्यालय बाँकेकै एउटा टोलीले नरैनापुर गाउँपालिका वडा नं.६ बस्ने ४ जना मल तस्करलाई राप्तीसोनारी गाउँपालिका वडा नं.७ बाट पक्राउ गरि मंगलवार भन्सार पुर्याएकोमा उनीहरु जनही एक लाख ४ हजार रुपैया धरौटीमा नेपालगन्ज भन्सार कार्यालयबाट रिहा भएका छन् ।
बोइलर कुखुरा, खसी, माछा र तरकारी सहित मल खुलेआम तस्करी भइरहेको सन्दर्भ सुरक्षा अधिकारीलाई देखा परेन । नरैनापुर अनुगमनको औपचारिकतामा पुगेका सुरक्षा अधिकारीहरु नरैनापुर १ को उत्तर तर्फ किसान सामुदायिक बन क्षेत्रको झुर्रहवा नाकामा बसोबास गरेको विवादित बस्ती सम्म पुगेका थिए । सुरक्षा अधिकारीसँगै प्रदेश सभा सदस्य आइपी खरेल पनि वस्ती हेर्न पुगेका थिए ।
हाम्रो सामुदायिक बन क्षेत्रमा अवैध तरिकाले ब्यक्ति बसोबास गरेको सन्दर्भमा कुनै कारवाही भएन, स्थानीय बासिन्दा कयुम खाँले भने, सुरक्षा अधिकारीहरु आफै सो क्षेत्रको अनुगमन गरेपनि अवैध बस्ती बारे केहि बोल्नु भएन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here