साम्प्रदायिकता सिकाउने कस्तो शिक्षा ?

0

अहिले पाठ््यक्रम बिकास केन्द्रले ल्याएको संरचनामा संस्कृत बिषय त मात्रै ऐच्छिक हो त्यसलाई पढ्न र पढाउन नचाहनेहरुका लागि जबर्जस्ती पनि त छैन अनि किन यति सारो
रोइलो ? यसको एउटै कारण साम्प्रदायिकताको दोकान चलाउने चिन्तन मात्रै हो ।

मित्रलाल सापकोटा

नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७७ बाट लागू हुने बिषयहरुको बारेमा सूचना निकालेर त्यस्ता बिषयहरुको बारेमा जानकारी गराएको छ । यस बर्ष देखि कक्षा ११ को पाठ्यक्रम पनि फेरेको छ । यसमा विगतमा पाँचवटा मात्रै विषयहरु पढाउँदै आइएकोमा अब ६ वटा विषयहरु पढाउँनै पर्ने बनाउँदै सामाजिक अध्ययन थप गरेको छ । यसका साथै कक्षा चार देखि आठसम्मको पाठ्यक्रममा अनिवार्य पाँचवटा बिषयहरु बाहेक मातृभाषा र स्थानीय भाषा र कक्षा ६–८ मा ऐच्छिक विषयको रुपमा संस्कृत पनि पढ्न पाइने भनेको छ । यो संस्कृत भन्ने शब्द सुन्ने बित्तिकै नेपालमा हिजो देखि संस्कृतको बिरोध गरेकै भरमा आफनो रोजीरोटी चलाएकाहरु र कथित धर्मनिरपेक्षको खोल ओडेर साम्प्रदायिक दोकान सजाएकाहरु सामाजिक सञ्जाल देखि बिभिन्न शैक्षिक बहसहरुमा बुरुक्क बुरुक्क उफ्रेर भन्दै छन् ‘संस्कृत लाद्न पाइँदैन यो सामन्तबादी शिक्षा हो ।’
बडो गज्जबको कुरा लाग्यो मलाई पनि यी साम्प्रदायिक दोकान चलाउनेहरुको अनि अझ गज्जब त तिनीहरुको मातृभाषा प्रतिको आजसम्मको व्यवहार देखेर पो लाग्दैछ । जातीय द्वन्द्वको खेती गरेर फलेफूलेकाहरुले आजसम्म पनि कुनैपनि जातजातीको मातृभाषामा पाठ्यक्रम हुनुपर्छ भनेर पैरवी गरेको सुन्न पाइएको छैन । न त आजसम्म कहिँ कुनै विद्यालयमा त्यस्तो मातृभाषाको पढाइ नै हुनेगरेको छ । यहाँ त मात्रै चिन्तन छ कसरी नेपाली मौलिकता, नेपाली परम्परा, नेपाली धर्म संस्कृति र सभ्यतालाई होच्याएर आफ्नो उचाइ बढाउन सकिन्छ भन्ने ।
अहिले पाठ््यक्रम बिकास केन्द्रले ल्याएको संरचनामा संस्कृत बिषय त मात्रै ऐच्छिक हो त्यसलाई पढ्न र पढाउन नचाहनेहरुका लागि जबर्जस्ती पनि त छैन अनि किन यति सारो रोइलो ? यसको एउटै कारण साम्प्रदायिकताको दोकान चलाउने चिन्तन मात्रै हो । यो साम्प्रदायिकताको दोकान चलाउनेहरुको हर्कत कतिसम्म हुने गर्छ भन्ने कुरालाई यहाँ इण्डियामा भएको शिक्षा सम्बन्धी यस्तै एउटा घटनासँग जोडेर यहाँ चर्चा गर्न मन लाग्यो ।
सन् १९९८ को कुरा हो मलाई आज पनि ताजै लागिरहेको छ कि आज भन्दा २३ बर्ष पहिला इण्डियामा अटलबिहारी बाजपेयीको सरकार बनेको थियो त्यो सरकारले अक्टुबर महिनाको २२ र २३ तारिखमा दिल्लीको विज्ञान भवनमा त्यहाँका सबै प््रदेशहरुका शिक्षा मन्त्रीहरुको सम्मेलन बोलाएको थियो । उक्त सम्मेलनमा भएको बारेमा त्यसबेला मिडियाहरुमा निकै चर्चा चलेको थियो शिक्षामा साम्प्रदायिकतालाई लिएर तर उक्त सम्मेलनको उद्देश्य देशको शिक्षा नीतिमा राष्ट्रिय समानता कसरी ल्याउने भन्ने रहेको भनिएको थियो । त्यसबेलाका मानव संसाधन मन्त्री (शिक्षा मन्त्री ) थिए प्रा.डा. मुरली मनोहर जोशी । एउटा अति विज्ञ मन्त्री, शिक्षित दिक्षित र प्रशिक्षित पनि । आफ्नो बिषयका उनी प्राज्ञिक थिए । मुरली मनोहर जोशी जो इलाहबाद विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक रहेका र भौतिकशास्त्रको शोधपत्र समेत हिन्दीमा पेश गरेका व्यक्ति थिए उनी । उनले यो सन्देश पनि दिएका थिए कि मातृभाषामा पनि आधुनिक विज्ञानको शोधपत्र तयार गर्न सकिन्छ भनेर । यसो भन्दै गर्दा नेपालमा अलि पाच्य पनि नहुन सक्छ तर सत्य यहि थियो । उक्त सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न एउटा यस्ता व्यक्तिलाई लगाइएको थियो जो पश्चिम बंगालका आदीबासी इलाकामा १३ सय बढि विद्यालयहरु संचालन गरेका व्यक्ति पी डी चितङ्गिया थिए । उनको कार्यपत्रको बिषय थियो सस्तोमा शिक्षा कसरी दिन सकिन्छ भन्ने । यसमा मुख्य ऐजेण्डा थिए (१) भारतीय शिक्षाको पद्धति भारतीय ऐतिहासिकताका आधारमा हुने । (२) कक्षा ४ दखि १० सम्म संस्कृत बिषय अनिवार्य गराउने । (३) शिक्षकहरुको मूल्याङन राष्ट्रिय शिक्षक एकेडमीले गर्ने । (४) शिक्षा बोर्डको स्वायत्तता दिने (५) शिक्षामा अल्पसंख्यहरुको अधिकारलाई सुनिश्चित गर्ने (६) परीक्षालाई अङ्कबाट ग्रेडिङ्गमा लैजाने । आदी ।
यी ऐजेण्डामा कहिँ कतै साम्प्रदायिकताको न त कुनै गन्ध थियो न आशय । तर ती कार्यपत्र प्रस्तुत गर्ने व्यक्तिलाई विद्याभारती र राष्ट्रिय स्वयंसेवक संघको प्रतिनिधी भएको र हिन्दुत्व लाद्न खोजेको आरोप लगाएर गैर भाजपाई मन्त्रीहरुले सम्मेलन नै बहिष्कार गर्ने सम्मको अवस्था आयो । उनले कति नै कोशिस गरे आफ्नो परिचय दिने र कोही कसैसँग सम्बन्ध नभएको र सबै राजनीतिक पार्टीहरु आफुलाई उत्तिकै महत्वपूर्ण रहेको उनले बताइ रहँदा पनि उनको आवाज न त कसैले सुन्यो न उनको त्यो कार्यपत्र नै स्वीकृत भयो । अन्तमा सरकार नै ब्याकफुटमा जानपर्ने अवस्था आयो । यसबाट त्यहाँका साम्प्रदायिक तत्वहरुको कतिसम्म पूर्वाग्रह रहेको थियो र छ भन्ने कुरा छर्लङ्गपनि भयो । यो कुराको लागि बहाना बनाइयो कि सम्मेलनको शुरुमा नै राष्ट्रियगान पछि जब सरस्वती बन्दना पनि गाइयो । त्यहिँबाट सरस्वती वन्दना उनीहरुका लागि अल्पसंख्यकहरुको अपमान भएको भनियो ।
भारतीय संस्कृतिको मूल जरो त वैदिक सनातन नै हो । बहुसंख्यक जनसंख्या सनातनी र ओमकार परिवार रहेको समाजको परम्परा नै हुन्छ कि कुनैपनि कार्यक्रमको शुरुआत दियो बालेर, सकेसम्म स्वस्तिवाचन गरेर, शान्ति पाठ गरेर गर्ने नै । त्यहि नै संस्कार र संस्कृति भारतमा रहेको १९९८ को त्यो सम्मेलनमा मात्रै होइन । त्यस भन्दा पहिला पनि धेरै राज्यहरुमा र त्यहाँका विद्यालयहरुमा सरस्वति वन्दना गाउने चलन नै थियो । यो सम्मेलनमा अरु केहि नगरेर राष्ट्रियगान पछि मात्रै सरस्वती वन्दना गाइएको थियो अरु कुनै कुरा थिएन । मात्रै सम्प्रदायिक तत्वहरुका लागि यति नै काफि थियो जो अहिले नेपालका त्यस्तै तत्वहरुका लागि सँस्कृत बिषयलाई ऐच्छिक मात्रै बनाउँदा भएको छ ।
एउटा भनाइ छ अन्धा पनि दुई प्रकारका हुन्छन् । एक वास्तविक रुपमा नै आखाँ नदेख्नेहरु अर्को थरी अन्धा हुन्छन् जो देख्नै नचाहनेहरु । यहाँ सँस्कृतलाई बिरोध गर्नेहरु भनेका दोश्रो थरीका अन्धाहरु नै हुन । संसार त प्रगतिशील त्यतिखेर हुन्छ जब स्थितिगत्यात्मकतालाई स्वीकार गरिन्छ । विगतलाई, इतिहासलाई मासेर त्यसको खरानीमा स्थापित गरिने प्रगतिले कुनैपनि किसिमको सभ्य र नैतिक समाजको स्थापना गर्नै सक्दैन । हरेक देश या समाजको जरो भनेको उसको विगत हो । उसको परापूर्वकाल देखि चलि आएको रित, थित, परम्परा, भाषा, धर्म संस्कार, सँस्कृति र सभ्यता नै उसको वर्तमान को आधार स्तम्भ हो । यहि मूल जरोबाट उम्रिएको कोपिलाले मात्रै भविष्यमा रसिलो फल दिन्छ । हो् कतिपय कुराहरु आधुनिक प्रविधिको अनुकुल नहुन सक्छन् या आजको विज्ञानको बुद्धिसँग बाझिएको जस्तो लाग्न सक्छ । यदि त्यस्तो छ भने आफ्नो मूल जरोसँग तारताम्यता मिलाउँदै त्यसको आधारस्तम्भमा आधुनिकताको महल बनाउन सक्नुपर्छ । यसैलाई नै स्थितिगत्यात्मकता भनिन्छ । यहाँ विगतलाई स्थित गर्दै आजको प्रगतिलाई अंगाल्न जरुरी छ । अन्यथा त्यो प्रगति छाडा, नैतिकताहीन, विवेकहीन र बिनाशक र साम्प्रदायिक नै हुन्छ ।
चाहे जुनकुनैपनि देशको होस् त्यस देशको शिक्षा नीतिको मूख्य आधार भनेकै त्यस देशको परम्परा र साँस्कृतिक मूल्यनै हो । हाम्रो यहाँ पनि नयाँ शिक्षा नीति आएको छ तर त्यसको प्रस्तावनामा या दूरदृष्टि या उद्देश्यमा कहिँ कतै नेपालको विरासतलाई या यहाँको मूल्य र मान्यतालाई कुनै आधार बनाउने प्रसंग नै देखिँदैन । यसमा बीना विगतको स्थिति गरी प्रगतिको कुरा गरिएको छ । यसबाट कस्तो नैतिकताको समाज बनाउने भन्ने कुरालाई गौण बनाइएको छ । इण्डियाको शिक्षा नीतिसँग दाँजेर वा अन्य देशको शिक्षा नीतिसँग दाँजेर भन्दा पनि यहाँ त कुनै देशले आफ्नो मौलिकताको विरासतलाई कसरी आधार बनाउँछ भन्ने कुरा मात्रै राख्न खोजिएको हो । कतिपय देशहरुमा त्यहाँको वर्तमान राजनीतिक सिद्धान्त र आदर्शले पनि त्यो देशको शिक्षा नीतिलाई निर्धारित गर्छ । यस्तै नेपालको वर्तमान राजनीतिको आदर्शले पनि नेपालको शिक्षा नीतिमा काम गरेको छ भन्न सकिन्छ ।
नेपालमा त आधुनिक शिक्षाको नाममा विद्यालयहरु, त्यहाँ पढाउने शिक्षकहरु, पाठ्यपुस्तकहरु सबैमा कहिँ कतैपनि एकरुपता भएको या यसमा सबैको पहुँच रहेको छैन । यहाँ त शिक्षाको स्तरलाई राज्यको लगानी भन्दा पनि व्यक्तिको आर्थिक हैसियतले मापन गर्ने गरेको पाइन्छ । बढि शुल्क तिरेर, आधुनिकताको कण्ठलगौंटी भिरेर, चुच्चे टोपी लगाउँदै बत्ती निभाएर जन्मदिन मनाउँदै गरेपछि अति आधुनिक भइने र शिक्षित भएको अनुभूति गर्ने, आफ्नो मातृभाषालाई तुच्छ सम्झिँदै मुख बंग्याएर अंग्रेजी बोलेपछि त्यो शिक्षाको गुणस्तर निकै राम्रो मान्ने भन्ने मान्यता राख्ने पनि नेपालको शिक्षा नीतिको सार हो । यसले शिक्षामा आफ्नो मौलिकतालाई माया गर्दै, आफ्नो माटोको पूजा गर्दै, आफ्नै मातृभाषामा बोलेर लेखेर पढिएको र पढाइएको शिक्षा तथा आफ्नै देशको समाजिक नैतिक विरासतमा खडा गरिएको शिक्षा पद्धति नै समाजको लागि अति उत्तम हुन्छ बढि उत्पादक हुन्छ भन्ने नियत नराख्नु पनि यहाँको शिक्षा पद्धतिले अगाँल्न खोजेको सम्प्रदायिक सोंच नै हो भन्नै पर्ने हुन्छ । जातीयता र क्षेत्रियताको स्पष्ट सीमारेखा कोर्ने र बालबालिकाहरुमा विभेदको बीऊ रोप्ने, आफ्नोपन र आफ्नो मौलिकतालाई कुरिती भनी सिकाउने शिक्षा पद्धति साम्प्रदायिक नै हुन्छ । आयातित संस्कृतिको पैरवी गरेको शिक्षाले नेपालमा सिकाएर हुर्काएको मात्रै साम्प्रदायिक सोंच नै हो कि होइन ?सबैले आफै बिचार गरौं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here